पहिचान र सम्मानको खोजीमा महिला आप्रवासी श्रमीकहरु  

३१ भदौ २०८१ १५:०५
श्रम आप्रवासन र नेपाल अब पर्याय जस्तै बनिसके । अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स बनेको तथ्य अब नयाँ रहेन । रेमिट्यान्सकै कारण परिवार र समाजमा उल्लेख्य आर्थिक सामाजिक परिवर्तन भइरहेका छन् । बहुसंख्यक परिवारको यो वा त्यो किसिमले रेमिट्यान्स जीविकोपार्जनको स्रोत हो चाहे त्यो भारतमा श्रम गरेर होस्, चाहे खाडी राष्ट्रमा वा अन्य पश्चिमी राष्ट्रहरुमा होस् । तर दुर्भाग्य राज्यले श्रम आप्रवासन, खासगरी निम्न तथा निम्न मध्यमबर्गिय परिवारहरुको गन्तव्य खाडी राष्ट्रमाहुने आप्रवासनलाई सुरक्षित र निष्पक्ष बनाउन सकेको छैन । हरेक दिन जस्तो देश भित्र वा गन्तव्य मुलुकमा बैदेशिक रोजगारीसँग जोडिएर आउने समस्याहरु दैनिक जिवनमा समाचार बनिसके । शुरुवाती अवस्थामा पुरुषको बाहुल्यता रहेको श्रम आप्रवासनमा बिस्तारै महिलाको सहभागीता बढ्दैगयो । आप्रवासनले महिलाहरुलाई घर र समाज बाहिरको संसारसँग परिचित गराउँदै र आर्थिक अवसरहरुसँग जोड्दै त लग्यो, तर यो सँगै आप्रवासन र रोजगारका क्रममा महिलाहरुप्रतिहुने विभेद, ंिहंसा, वेचविखन, श्रम र यौन शोषण, देश र गन्तव्य मुलुक दुवैतर्फ हावी हुँदै गयो । यस्ता घटनाहरु बढ्दै गर्दा राज्यले महिलाहरुका लागि श्रम आप्रवासन सुरक्षित, निष्पक्ष र सहज बनाउदै यसलाई मानवअधिकारको पक्षवाट वकालत गर्नुको सट्टा यस प्रक्रियालाई जटील, विभेदकारी र अनुदार बनाउँदै लग्यो । गन्तव्य मुलुक र रोजगारदाताहरुसँग निष्पक्ष र हिंसा रहित रोजगारीको सुनिश्चित गरी आर्थिक र अन्य लाभको अवसर लिनको सट्टा महिलाहरुको हिंडडुल गर्ने, रोजगारीको छनौट गर्ने स्वतन्त्रताको अधिकारलाई बन्देज गर्दै एक पछि अर्को नियमनहरु लागू गर्दै गयो । उदाहरणका लागि घरेलु श्रमिकका लागि जाने महिलाको उमेर २४ बर्ष हुन पर्ने, रोजगारीमा जान वडाको सिफारिस चाहिने, अभिभावकको सहमती हुनु पर्ने, घरेलु श्रमीकका रुपमा जान निश्चित देशहरुमाथि प्रतिवन्ध लगाउने आदि छन् । सरकारका यस्ता निर्णयहरु समय, समयमा परिवर्तित भइरहने गर्दछन् । तर के यस्ता निर्णयहरुले श्रम आप्रवासनमा महिलाहरुमाथि हुने समस्याहरुको न्यूनीकरण भएको छ त ? निश्चित पनि छैन । यसको विपरीत बेचविखनका दलालहरुले यस्ता नियमहरुको फाइदा उठाएर झनै बढी शोषण गरेको, गैर कानूनी बाटोको प्रयोग गरेको, आप्रवासनको तयारी देखि गन्तव्य मुलुकमा पग्ने क्रममानै असंख्य शोषण र हिंसाका श्रृखला तयार गरेको, आप्रवासनका नाममा वेचविखन गरेको, गन्तव्य देशमा बन्धक बन्नुपरेको दृष्टान्तहरु आप्रवासन सम्बन्धि अनुसन्धानका प्रतिवेदनहरुले बोल्दछन् ।
बैदेशिक रोजगार विभागको वि.सं. २०६५ देखि २०८० सम्मको तथ्यांक अनुसार जम्मा ३४४,६७९ जना महिला बैदेशिक रोजगारीमा छन् । तर यो कानूनी वा औपचारीक बाटोवाट जानेको मात्र तथ्यांक हो । गैरकानूनी वाटोवाट गएकाहरुको तथ्यांक कहीं भेटिदैन, यो संख्या निकै ठूलो हुने निश्चित छ ।  सबै जोखिम र कठिनाइका वावजूत महिलाले श्रम आप्रवासनवाट परिवार र समाजमा उल्लेख्य योगदान गरिरहेको यथार्थ हाम्रो सामू छ । योगदान परिवार र समाजमा मात्र सिमित नरहेर देशको अर्थतन्त्रमा पनि छ । यद्दपी, महिला श्रमीकको सबल पक्षलाई केन्द्रविन्दुमा राखेर बहस हुनेगरेको छैन । बरु श्रम आप्रवासी महिलाहरुलाई उनीहरुले भोग्नुपरेको अन्याय, शोषण र हिंसालाई आधार बनाएर सँधै लाचार, र कमजोर पात्रको रुपमा प्रस्तुत गरिइन्छ र सुरक्षीत बनाउने नाममा महिलालाई हेर्ने परम्परागत पितृसत्तात्मक सोचलाई निरन्तरता दिंदै उनीहरुको स्वतन्त्रता र आत्मसम्मान माथि विविध माध्यमवाट प्रहार गरिइन्छ । यसले आप्रवासी महिला श्रमीकको आत्मविश्वास बढाउनुको सट्टा मनोबल र समाज र परिवारमा उनिहरुको उपस्थितीलाई कमजोर बनाउँदछ ।
श्रम आप्रवासनमा नै किन ? 
१७ बर्षकै उमेरमा विवाह भएको सपनाको कही समयपश्चात डिभोर्स भयो । आमा र एक वच्चाको जिम्मेवारी सपनाको काँधमा रहेकी सपनाको कमाइ महिनाको रु १५०० थियो । बैदेशिक रोजगारीमा गएमा पैसा कमाउन सकिने सल्लाह पश्चात उनी एजेन्टको सहयोगले बिदेश लागिन् । तर यो यात्रा सोचे जस्तो रहेन । मुम्बइमा लगेर एक महिना राखेपछि दलालले कुवेत पर्याए । एक स्थानवाट अर्कोतर्फ कयौ पटक सार्दै, अनेकौ हन्डर खादै एकदिन अन्य धेरै महिलाहरु थ्ुानिएर राखेको एक मस्जिदमा पुगिन् । त्यहाँ इन्डोनेसिया, मलेसिया, बंगलादेश, पाकिस्तान, श्रीलंकाका महिलाहरु थिए । फरक देश र परिवेशका सबैको सपना पैसा कमाएर परिवार चलाउने थियो । आफ्नै देशका दलालवाट ढाँटिएर, ठगीएर, वेचिएर त्यस स्थानमा जम्मा हुन पुगेका उनीहरुले गन्तव्य देशमा हिंसा, शोषण, पीडा र अपमान खेप्नुपरेको थियो । सबैका पीडाका कथा उस्तै थिए । केही समयमा सपनालाई दलालले कुनै अर्कै स्थानमा पुर्यायो जहाँ उनले आफ्नो धर्म परिवर्तन गर्नुपर्ने भयो । त्यस घरमा अन्य महिलाहरु पनि काममा थिए । उनीहरुवीच रंगको अन्तर थियो । सपना गोरी थिइन् अरुको रंग कालो । रंगको आधारमा भेदभाव थियो । कसैका शरिरमा आइरनले पोलेका घाउहरु थिए, कतिका अन्य धेरै खालका शारिरीक चोटपटक थिए । उनीहरुलाई एकअर्कासँग बोल्न वर्जित थियो,यद्दपी भाषाका कारण कसैसँग दोहोरो कुरा पनि हुँदैनथ्यो । उनिसँग संचार गर्नसक्ने केही साधन थिएन । मालिकले उनको खातामा पैसा पठाइदिन्थे तर कति पठाउने कुनै निश्चित थिएन, त्यो पठाउनेको तजबीजमा भरपथ्र्यो । सपना केही कसो गरेर यहाँवाट उम्किइन र साउदी पुगिन्, त्यसपछी दुवई । अस अवधिमा केही पैसा कमाउन, परिवारको अवस्था सुधार्न सफल भइन् र घर फर्किने निधो गरिन् । तर गाउँ फर्काइ सोचे जस्तो सुखद् भएन । उनलाई एचआइभी बोकेर आएको र अन्य धेरै प्रकारका लाञ्छनाहरु लगाइयो । छोराको नागरिकता बनाउन बाबु खोजियो । यी सबै अवरोध, अपमान र धोका सहेरै भएपनि उनले संघर्ष गर्न छोडिनन् । महिला समूहहरुमा आबद्ध भइन्, तालिमहरुमा सहभागी भइन र आफ्नो जीवनलाई पुन नियन्त्रणमा लिइ स्वयंलाई समाजमा स्थापित गराइन् । केही समय अगाडि भएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सपनाले आफ्नो कथा सुनाइन् । उनकै जस्ता कथाहरु बंगलादेश, श्रीलंका, भारतका अन्य महिलाहरुले पनि साझा गरे ।
सपना, दक्षिण एशियाली देशहरुकी एक प्रतिनिधि पात्र हुन् । संरचनात्मक रुपमा नै पछाडि पारिएका सपनाहरु शिक्षा, सीप, अवसर, सूचनावाट बन्चित हुन बाध्य छन् । आर्थिक अधिकारमा पहुँच नभएता पनि पारिवारीक जिम्मेवारी बोझ भने सँधै काँधमा बोक्छन् । र आर्थिक उपार्जनका अवसरका खोज्ने क्रममा बाध्यात्मक रुपमा (अपवादमा रहरका घटना बाहेक) देश भित्रै वा बाहिर श्रम आप्रवासन रोज्न बाध्य हुन्छन् । नेपालमा द्वन्द्वपश्चात विविध कारणहरुले महिलाहरु श्रम आप्रवासन रोज्न बाध्य भएका छन् । तर आप्रवासनका क्रममा देश भित्रै र बाहिर पटक पटक अपमानीत र पीडित हुन्छन् । हरेक परिस्थितिको समाना गर्दै श्रम गर्छन्, परिवारको भरथेग गर्छन्, छोराछोरीको शिक्षा, स्वास्थ्यमा लगानी गर्दछन्, देशकै अर्थतन्त्रमा योगदान पुर्याउँछन् । तर दुर्भाग्य, श्रम आप्रवासन पश्चात घर फर्किदा कतिपय अवस्थामा आफ्नै परिवार, समाजवाट तिरस्किृत भइ पुन बिदेशिन बाध्य हुन्छन् । धेरै महिलाहरु बिदेश गएर भोग्नुपर्न सक्ने जोखिमहरु थाहा हुँदा हुँदै पनि यो निर्णय लिन्छन् । किनभने उनिहरुकालागी बिदेशमा भोग्नु पर्ने पीडा भन्दा आफ्नै परिवार र समाजमा भोग्नुपर्ने लान्छना र वहिष्करण अझै बढी अपमानजनक हुन्छ । श्रम आप्रवासी पुरुषहरु पनि वेचविखन र शोषणमा नपर्ने होइनन्, तर समाजले महिला र पुरुषलाई गर्ने फरक व्यवाहारका कारण उनीहरुले भोग्नुपर्ने हिंसा र विभेदका प्रकारहरु पनि फरक हुने गर्दछन् । उदाहरणको लागी अधिकांस पुरुषहरु बिदेश जानलाई घरेलुहिंसा भोगेको वा पारिवारीक बहिष्करणमा परेका घटना कमै हुन्छन् । प्राय उनीहरु पारिवारिक सल्लाह अनुसार, स्वेच्छाले वा रोजगारीका अवसर नभएका कारण कमाइ गर्न गएका हुन्छन् । त्यस्तै रोजगारीका क्रममा पुरुषहरुले (अपवादवाहेक) श्रम शोषण र अन्य मानसिक शारिरीक हिंसा भोग्नु परेता पनि यौन हिंसा भोग्नुपर्दैन जुन महिलाले पाइलै पिच्छे भोग्नुपर्ने हुनसक्छ । बैदेशिक रोजगारीवाट फर्किए पश्चात पुरुषको समाजमा हैसियत र इज्जत बढ्न जान्छ यसको विपरीत महिलालाई उनले परिवारमा गरेको योगदानलाई नजरअन्दाज गर्दै अपमान, तिरस्कार र निर्णयात्मक प्रश्नहरु गरिइन्छ, जसका कारण आफ्नै परिवार र समाजमा स्थापित हुन समेत अर्को संघर्ष लड्नु पर्ने हुन्छ ।
श्रम आप्रवासन : सुरक्षीत मात्र कि निष्पक्ष पनि ? 
सुरक्षित श्रम आप्रवासनले आप्रवासी श्रमीकलाई ज्ञान, सीप, र सूचनावाट सुसूचित गराउँदै सुसूचित निर्णय लिन सक्षम बनाउने भन्ने अवधारणा राख्दछ भने निष्पक्ष श्रम आप्रवासनको अवधारणाले निष्पक्ष भर्ना प्रक्रियालाई केन्द्रमा राख्दछ जसमा आप्रवासी श्रमीकको कार्यस्थलमा हुनुपर्ने श्रम अधिकारको सुनिश्चितता हुन पर्ने तर्क रहन्छ । यस अन्तर्गत गुणस्तरीय काम, सुरक्षीत र सम्मानीत कार्यस्थल, समानता, न्यायीक ज्याला, काम गर्ने अवधि र समयको सुनिश्चितता, संगठनगर्न पाउने अधिकार आदि हुन्छन् । तर अधिकांश महिलाहरु जाने भनेको घरेलु श्रमीकका रुपमा हो, जुन आफैमा अनौपचारीक क्षेत्रभित्र पर्दछ । गन्तव्य देशहरुमा अनौपचारीक क्षेत्रका कामदारहरुको कार्यस्थलमा हुनुपर्ने मापदण्डहरु पूरा भए नभएको निर्धारण गर्ने वा अनुगमन गर्ने कुनै संयन्त्र छैन । यता राज्यले पनि श्रमीक जानुपूर्वनै यी सबै कुराको सुनिश्चितता गर्दैन । परिणामस्वरुप श्रमकालागी बिदेशिने बहूसंख्यक महिलाहरु अकल्पनीय शोषण र हिंसा भोग्न बाध्य हुन्छन् । श्रम आप्रवासनको बिषयलाई महिलावादी दृष्टिकोणवाट नहेरी समग्रतामा केवल रेमिट्यान्स भित्र्याउने उद्देश्यमात्र राख्नाले यस्तो हुनजान्छ । त्यसैले द्धिदेशिय श्रम सम्झौता गर्ने बेलामा नै स्रोत र गन्तव्य मुलुक दुवैका निति, नियम, व्यवहार, श्रम सम्भौताहरुको महिलावादी दृष्टिकोणवाट विश्लेषण हुनुपर्दछ । कामदार स्वयं सचेत र सूसूचीत भई सही निर्णय लिन सक्ने हुनु जती महत्वपूर्ण पक्ष हो, त्यो भन्दा अझै महत्वपूर्ण गन्तव्य मुलुकमा आप्रवासी श्रमीकको अधिकार सुरक्षित, निष्पक्ष र न्यायपूर्ण हुनु हो । श्रम बजार नै लैंगिक विभेदग्रस्त भएसम्म महिला कामदार सम्मानीत हुन सक्दैनन् । यसको पैरवीको लागि स्रोत मुलुकको सरकार लगायत श्रमीक अधिकारको पक्षमा काम गरिरहेका संयुक्त राष्ट्रसंघीय निकायहरु जस्तै आइएलओ, आइओएम लगायत अन्य अन्तर्राष्ट्रि«य संस्थाहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । तर गन्तव्य मुलुकहरुले यसको जिम्मेवारी र जवाफदेहीता लिनु अपरिहार्य हुन्छ, जुन अहिले भएको छैन ।
यसका अलावा सुरक्षित आप्रवासनका नाममा महिलाहरुको आधारभूत मानवअधिकारको हनन् गर्ने कामहरु राज्यले तुरुन्तै बन्द गर्नु पर्दछ । कल्याणकारी अवधारणामा आधारित भएर महिलालाई सँधै विचरा, निरीह, निर्णय क्षमता बिहिन प्रस्तुत गर्ने, उनीहरुको हिंडडुल गर्ने, रोजगारी छनौट गर्ने स्वतन्त्रतामाथी प्रतिबन्ध लगाउने कार्यहरु भनेको मानवअधिकारको हनन् मात्र होइन की लैडि.क समानताका निम्ति राज्यले सुनिश्चित गरेका राष्ट्रिय र अन्तराष्ट्रिय कानून, र सम्झौता विपरीत समेत हो । राज्यले श्रम आप्रवासनका माध्यमवाट महिलाहरुले अर्थतन्त्रमा गरेको योगदानको सही पहिचान, मूल्यांकन र सम्मान गर्न नसक्नु अर्को दुर्भाग्यपूर्ण पक्ष हो । यसका निम्ति परिवार, समाज र राज्य संरचनाहरु सबैको भूमीका रहन्छ । सबै तहका सरकारले श्रम आप्रवासमा जान चाहने, गएका वा फर्किएका महिलाहरुको पहिचान गरी तिनका तत्कालिन र दीर्घकालीन आवश्यकताहरुको संबोधन गर्ने महिलावादी श्रम आप्रवासनका नितीहरुको तर्जुमा र लागू गर्ने, परिवार र समाजमा सम्मानित रुपमा पुर्नएकिकरण हुने वातावरण निर्माण गर्नुपर्ने हुन्छ । श्रम आप्रवासन हरेक नागरिकको समान अधिकार हो र आप्रवासी श्रमीक महिलाको पहिचान र सम्मान निशर्त शर्त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस