गौरामय बन्दै अमेरिका

द एभरेष्ट पोष्ट
३१ भदौ २०८१ ११:४१
गौरामय बन्दै अमेरिका

न्यूयोर्क(अमेरिका), ३१ भदौ ।

‘यो मन त मेरो नेपाली हो’ प्रवासमा बस्नेहरुले सबैभन्दा उच्चारण गर्ने नारा मात्र होईन यो । व्यबहारमा पनि प्रवासी नेपालीहरुको मनमा नेपाल झल्किन्छ । र त, उनीहरु आफ्नो भाषा,संस्कृति र परम्परा भनेपछि हुरुक्क हुन्छन् । शिरमा ढाकाटोपी, शरीरमा दौरा शुरुवाल र हातमा नेपाली झण्डा । जुनसुकै जाती, भूगोल, सम्प्रदायका भएपनि उनीहरुले मनाउने हरेक मौलिक पर्वमा पाईने यो समानता हो ।

र, प्रवासमा बस्ने नेपालीहरुको अर्को, विशेषता हो, फरक जाती र सम्प्रदायका पर्व र परम्पराहरुमा सहभागी हुनु ।

पछिल्लो साता अमेरिका गौरामय भयो । अमेरिकाका ती राज्यहरु, जहाँ सुदूर पश्चिमेलीहरुको उल्लेख्य उपस्थिति छ, त्यहाँ गौरा धुमधामसंग मनाईयो । टेक्सस, कनेक्टिकट, विस्कन्सिन, लस एञ्जल्स, भर्जिनिया लगायतका राज्यहरु गौरामय भए ।

त्यहीक्रममा अमेरिकाको न्यूयोर्कमा पनि गौरा पर्व सुदूर पश्चिमेलीहरुले धुमधामसंग मनाए । बिरुणा भिजाए । गौरा भित्र्याए । धुमधामसंग गौराको पूजा गरे ।

सोहीक्रममा सुदूर पश्चिम समाज न्यूयोर्कले औपचारिक रुपमा समेत गौरा कार्यक्रम आयोजना गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रण बहादुर रावलले प्रवासमा रहे पनि नेपालीहरुमा मातृभूमि र आफ्नो भाषा, संस्कृति र परम्पराप्रतिको माया अटुट रहेको बताए ।

उनले प्रवासमा गौरा पर्वको संरक्षण, सम्बद्र्धन र जगेर्नाका लागि न्यूयोर्कसंगै अमेरिकाका बिभिन्न राज्यमा रहेका सुदूर पश्चिम समाज र त्यहाँका अगुवाहरुले निर्बाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

गौराका अवसरमा न्यूयोर्कमा आयोजित कार्यक्रममा सहभागी हुन पाउदा आफूलाई नेपालमै रहेको महशुस भएको रावलले सुनाए ।

उनले भाषा, संस्कृति र परम्परा मानव जातीको पहिचान र अस्तित्वसंग जोडिएको चर्चा गर्दै त्यसको जगेर्ना अपरिहार्य भएको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सुदूरपश्चिमेलीहरुले प्रवासमा रहेपनि गौरा, बिशुँ, ओल्के जस्ता मौलिक परम्परा, पर्व र संस्कृति जगेर्नाका लागि सामूहिक रुपमा प्रयत्न गरिरहेको बताए ।

गौरा कार्यक्रममा पूर्व अध्यक्षहरु ममता जोशी, गणेश बिष्ट, राम बहादुर देउवा, पूर्व बोर्ड सदस्यहरु, वर्तमान र विगतका सल्लाहकारका साथै सुदूर पश्चिम घर भई न्यूयोर्कमा बस्दै गएका समाजका सदस्य तथा शुभेच्छुकहरुको सक्रिय सहभागिता र सहयोग रहेको थियो ।

समाजका अध्यक्ष दानसिंह बिष्टको अध्यक्षतामा गौरा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष बिष्टले कार्यक्रमका प्रमुख अतिथि डा. रावल, बिशिष्ट अतिथि बिष्ट लगायत गौरा कार्यक्रम सफल पार्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिए ।

उनले गौरा पर्व सुदूर पश्चिमवासीको पहिचानसंग जोडिएकोले यसको जगेर्नाका लागि समाजले हरेक वर्ष कार्यक्रम आयोजना गर्ने गरेको बताए ।

कार्यक्रममा गौराको महत्व र प्रवासमा त्यसको सान्दर्भिकताका बारेमा प्रकाश पारेका सुदूर पश्चिम समाज न्यूयोर्कका उपाध्यक्ष तथा कला तथा सांस्कृतिक संयोजक रैभान महराले दाहिना दमाहु बजाएर सबैलाई मन्त्रमुग्ध बनाए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष नविन ओझाले गौरा कार्यक्रमको व्यवस्थापन र समन्वय र संयोजन गरेका थिए भने कोषाध्यक्ष भीम खत्रीले कोषको व्यवस्थापकीय जिम्मेवारी निर्बाह गरेका थिए । संस्थाकी सदस्य लक्ष्मी पन्तले अतिथिलाई स्वागत तथा सत्कार गरेकी थिईन ।

संस्थाका सदस्य टेक साउद, डम्बर खत्री, सविन चन्द, गणेश खड्का, चक्र रावलले खाद्य व्यवस्थापनको जिम्मेवारी निर्बाह गरेका थिए ।

गौरा पूजामा पंडित सिद्धराज भट्टले गौरा पूजाको संयोजन गरेका थिए ।

समाजका महासचिव तथा गौरा कार्यक्रम संयोजक हरिदत्त जोशीले कार्यक्रम संचालन गरेका थिए भने सचिव गणेश बिष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस