४० करोड भन्दामाथिका भ्रष्टाचारमा ठूला दलको सहमति !

'ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन्। राजनीति पनि सक्छन्'

द एभरेष्ट पोष्ट
२३ भदौ २०८१ ४:५५
४० करोड भन्दामाथिका भ्रष्टाचारमा ठूला दलको सहमति !

काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ४० करोड रुपैयाँ भन्दा माथिका भ्रष्टाचारका घटनामा ठूला दलहरुबीच सहमति हुने गरेको बताएका छन्।

शनिबार अर्थशास्त्री हरि रोकाले लेखेको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भूसालले ठूला भ्रष्टाचारका घटनामा कांग्रेस, एमाले, माओवादीलगायत दलको कुनै न कुनै खालको संलग्नता हुने बताएका हुन्।

‘…४०/५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ। त्यहाँ कांग्रेस पनि हुन्छ। माओवादी पनि हुन्छ। एमाले पनि हुन्छ। मेरै पार्टी पनि होला। त्यो नभइकन अगाडि बढ्दै बढ्दैन। ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन्। राजनीति पनि सक्छन्’, उनले भने।

अहिले दलहरुले नै घुस खाने मान्छे उत्पादन गरिरहेको भन्दै भूसालले पार्टीहरुले त्यस्ता मान्छे उत्पादन नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने बताए।

उनले भने, ‘कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरु जन्मिदैनन्। भ्रष्टहरु पालित, पोषित हुँदैनन्। तिनीहरु संरक्षित हुँदैनन्, नेता बन्दैनन्।’

महासचिव भूसालले नेपालमा लोकप्रियतावादले समाजवादतर्फको यात्रा रोकेको जिकिर गरे। समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको उनको आरोप छ।

‘चुच्चे रेल आउँछ। काठमाडौंमा दुई वर्षमा आउँछ। अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर चुच्चे रेलसँग, टावरहरु सँग, के सँग भाष्य बिगारिदिनुभयो उहाँले। प्रधानमन्त्री भनेको मुलुकको सबभन्दा ठूलो शिक्षक हो’ महासचिव भूसालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस