परराष्ट्रमन्त्रीलाई मोदीले भेटेकोमा खुशी मनाउनु हाम्रो लघुताभास हो : पूर्वराजदूत आचार्य

द एभरेष्ट पोष्ट
२५ भदौ २०८१ ५:५९
परराष्ट्रमन्त्रीलाई मोदीले भेटेकोमा खुशी मनाउनु हाम्रो लघुताभास हो : पूर्वराजदूत आचार्य

काठमाडौं । भारतको औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न पाउनुलाई ‘उच्च सम्मान’ का रुपमा व्याख्या गर्दै हर्षबढाइ भइरहेको छ । जबकि हालै मात्र भारतीय विदेश सचिव नेपाल आउँदा ८ घन्टाभित्र राष्ट्रपति, प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्री र विपक्षी दलका नेतालाई समेत पालैपालो भेटेका थिए ।

भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्य परराष्ट्रमन्त्री औपचारिक भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्रीले भेट्नु सामान्य भएको बताउँछन् । यसैलाई लिएर धेरै उत्साहित हुनु लघुताभाष भएको उनको टिप्पणी छ ।

आचार्यले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘कुनै द्वीपक्षीय भेटमा गएको होइन, कुनै कार्यक्रममा गएको होइन । भारतले औपचारिक निम्तो दिएर गएकाले समकक्षीसँगको भेट र प्रधानमन्त्रीसँगको शिष्टाचार भेट सामान्य कुरा हो ।’

विगतमा परराष्ट्रमन्त्रीहरुले अरु कार्यक्रममा जाँदा भारतीय प्रधानमन्त्रीसँग भेट नभएको उदाहरण दिएर अहिलेको भेटलाई भयंकर उपलब्धी मान्नु आवश्यक नभएको आचार्य बताउँछन् ।

उनले थपे, ‘भारतका विदेश सचिव आउँदा हामीले समकक्षी मात्रै होइन मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिदेखि सरकार बिरोधी दलका नेताहरुलाई पनि एक दिनभित्र भेट्ने माहोल बनायौँ । हाम्रो परराष्ट्रमन्त्रीको त यस्तो भेट होइन । उहाँको त पाँच दिन लामो भ्रमण छ । भारतीय प्रधानमन्त्रीले नभेटेको भए त्यो चाहीँ आश्चर्यजनक हुन्थ्यो ।’

उच्च नेतृत्वको भारत भ्रमणबाट नेपालको हित हुने कुनै उपलब्धी हासिल भएमा मात्रै उत्साहित हुनुपर्ने आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘औपचारिक निम्तोमा जाने परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीले भेट दिए भनेर खुशी मनाउनु हाम्रो लघुताभाष हो । बरु राष्ट्रपति र अरु नेताहरुसँग किन भेट भएन भन्न सकिन्छ ।’

आचार्यले भनेजस्तै नेपालका परराष्ट्रमन्त्री औपचारिक भ्रमणमा जाँदा प्रधानमन्त्रीलाई भेट्नु नयाँ कुरा होइन । यस अगाडी कमल थापा तथा प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा भारत भ्रमण गएका बेला मोदीसँग भेटेका थिए । त्योभन्दा अगाडी सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग झण्डै डेढ घन्टा कुराकानी गरेको उदाहरण पनि छ ।

One thought on “परराष्ट्रमन्त्रीलाई मोदीले भेटेकोमा खुशी मनाउनु हाम्रो लघुताभास हो : पूर्वराजदूत आचार्य

  1. केही भारतीय दलालले भनेका हुन् । …… जान्न चाहान्छन भन्ने एउटा दलाल पत्रकारले हो हल्ला गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस