उपसभामुख विवादका बीच संवैधानिक परिषद्को बैठक बस्दै

द एभरेष्ट पोष्ट
२६ भदौ २०८१ ५:१८
उपसभामुख विवादका बीच संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं- सत्तापक्षका सांसदहरुले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्दै हस्ताक्षर संकलन गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

उपसभामुखले पदको दुरुपयोग गर्दै असम्बन्धित व्यक्तिहरुलाई अमेरिका लैजानका लागि रकम संकलन गर्दै नेपालस्थित अमेरिकी दूतावासलाई पत्र पठाएको विषयका कारण सत्तापक्षका दलहरुले उपसभामुखलाई हटाउन हस्ताक्षर संकलन थालेका हुन्।

बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस सम्बन्धी छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संवैधानिक परिषद्को अध्यक्ष भएकाले प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। प्रधानमन्त्री केही दिनमा अमेरिका भ्रमण जाने भएकाले बैठक बुधवारकै लागि बोलाइएको हो । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो।

बैठकले प्रधान न्यायाधीशका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गर्ने सम्भावना रहेको छ। उनी पहिलो नम्बरमा रहेका छन् ।

वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गतेबाट अवकाशमा जाने भएकोले सो भन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था अनुरुप आजै सिफारिस हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस