दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न सार्क विश्वविद्यालयलाई परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । पाँच दिने भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेको जलवायु परिवर्तनको असर लगायतका साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छिन्। ।
आज नयाँ दिल्लीमा उनीसँग शिष्टाचार भेटका लागि पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के. के. अग्रवालसँग उनले गरेकी हुन्। केहि महिना अगाडि नेपाल आएका अग्रवालले पनि यस्तै चाहाना सार्वजनिक गरेका थिए।
अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भनिन, “जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो । त्यस्तै अरु पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन् । ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान गरी उपायहरु सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ ।”
त्यस अवसरमा सो विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यस अन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरे। विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ । अहिले विश्वबिध्यालयमा भारतले मात्र आर्थिक भार बेहोरिरहेको छ । सार्क सुस्त हुदा यस्तो भएको अध्यक्ष अग्रवालले काठमाडौं आउदा बताएका थिए।